बेलायती केन्द्रीय बैंकले १४ वर्ष यताकै उच्च विन्दुमा पुर्यायो ब्याजदर

0
Shares

बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्यान्डले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ ।

सन् २००८ यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको बेलायतले मुद्रास्फीति नियन्त्रण गर्न यस वर्षमा मात्रै आठ पटक ब्याजदर बढाएको छ । ०.७५ प्रतिशतले ब्याजदर बढाउँदै बैंक अफ इङ्गल्यान्डले ब्याजदर ३ प्रतिशत कायम गरेको छ । उक्त ब्याजदर सन् २००८ नोभेम्बर महिना यताकै उच्च रहेको छ ।

यस अघि मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले ०.७५ प्रतिशतले ब्याजदर बढाएको थियो । मुद्रास्फीति नियन्त्रण गर्न बैंक अफ इङ्गल्यान्डले पनि फेडकै नीति अपनाएको छ ।

यसै सन्दर्भमा बोल्दै गर्भनर एन्ड्रिउ बेलीले वर्तमान अवस्थामा मुद्रास्फीति दर उच्च रहेको र मूल्यवृद्धि नियन्त्रणमा ल्याउनु केन्द्रीय बैंकको प्रमुख दायित्व रहेको बताएका छन् । यो समयमा मुद्रास्फीति नियन्त्रणमा कुनै कार्य भएन भने आगामी समय थप जटिल बन्ने र मूल्यवृद्धिले विकराल रुप लिने उनको धारणा रहेको छ ।

अर्थतन्त्र खुम्चिरहेको समयमा केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै कर्जादर बढ्ने र त्यसले बेलायतको अर्थतन्त्रलाई थप सुस्ताउने अनुमान केन्द्रीय बैंकले गरेको छ । आर्थिक गतिविधिहरु सुस्ताउँदै जाँदा मन्दीको सम्भावना उच्च हुँदै गएको र मन्दीको प्रभाव सन् २०२४ को पहिलो ६ महिनामा सम्म पर्ने केन्द्रीय बैंकले जनाएको छ।

केन्द्रीय बैंकले यो वर्षको अन्त्यबाट सुरु हुने मन्दी सन् २००८को आर्थिक मन्दीभन्दा लामो समयसम्म रहने र त्यसको प्रभाव जिडीपिमा पनि पर्ने जनाएको छ । ब्याजदर वृद्धि पछि पाउन्ड डलरसँगको विनिमयमा २ प्रतिशतले गरिवाट आएको छ ।

यसैगरी राजनीतिक अस्थीरता र आर्थिक संकट एकैसाथ सामना गरिरहेको बेलायतमा सन् २०२३सम्ममा मूल्यवृद्धि नियन्त्रणमा नआउने गर्भनर बेलीले बताएका छन् । यसका साथै उनले आफूहरु मुद्रास्फीति नियन्त्रण गर्नमा कटिबद्ध रहेको जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।