उपभोक्ता मूल्य सूचांकमा सुधार आएपछि फेडरल रिजर्भ (फेड)ले औसत ब्याजदर वृद्धि नगर्ने आशा गरेका लगानीकर्ताहरुको मनोबल बलियो हुँदा आज एशियाली सेयरबजारमा हरियाली छाएको छ ।
सेप्टेम्बर महिनाको उपभोक्ता मूल्य सूचांकमा सामान्य सुधार देखिएपछि अमेरिकाको वार्षिक मूल्यवृद्धि दर ७.७ प्रतिशत रहेको छ । सन् २०२२ को जनवरीदेखि ८ प्रतिशत भन्दा धेरै रहेको थियो । फेडले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने प्रक्रिया अघि सारेको थियो ।
ब्याजदर वृद्धि गर्दा पनि यस अघि मुद्रास्फीति नियन्त्रणमा आएको थिएन । तर अक्टोबर महिनामा मूल्यवृद्धि दर ८ प्रतिशत भन्दा तल आएपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
आज एकैदिन जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ३.७२ प्रतिशतले बढेको छ । अष्ट्रेलियाको एस एन्ड पी२०० सूचांक २.४३ प्रतिशत उकालो लागेको छ । यसैगरी जापानी सेयरसूचांक निकेई आज ३ प्रतिशतले बढेको छ ।
सेयरबजारमा सकरात्मक सुधार आउँदा अमेरिकी ट्रेजरी बिलको कुपन रेटमा पाँच साता यताकै गिरावट आएको छ ।
मुद्रास्फीति दरमा सामान्य गिरावट देखिएपछि आज डलर सूचांक २ प्रतिशतले घटेको छ । आज डलर सूचांक १०८.२३० रहेको छ । आज १ डलर बराबर १३१.२० नेपाली रुपैयाँमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया