सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण गर्न भनेर तोकिएको कारोबार सीमा भन्दा माथिको कारोबार २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका अनुसार एक दिनमा १० लाख भन्दा धेरैको कारोबार संख्या बढदै गएको हो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको १० लाख वा सो भन्दा बढी नगद कारोवार गरेको अवस्थामा वित्तीय जानकारी इकाइमा रिपोटिङ गर्नुपर्ने हुन्छ ।
त्यसैगरी कुनै ग्राहकलाई एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको १० लाख वा सो भन्दा बढी रकमको विदेशी मुद्राको भुक्तानी वा नेपालको सीमा वारपार हुने गरी गरेको विद्युतीय वा अन्य स्थानान्तरण गरेको विवरण समेत इकाइमा पठाउनु पर्ने व्यवस्था छ । निर्देशिकाले कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको ५ लाख वा सो भन्दा बढी रकमको मुद्रा सटही कारोबार गरेको खण्डमा समेत इकाइलाई रिर्पोटिङ गर्नुपर्ने हुन्छ ।
तर, गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै उक्त सीमा नाघेर भएका कारोबार संख्या २४ लाख एक हजार रहेका छन् । यो सीमा नाघेको कारोबार संख्या अघिल्लो आवको तुलनामा २० प्रतिशतले धेरै हो । अघिल्लो आव (२०७७/०७८) मा तोकिएको सीमा नाघेर भएका कारोबार संख्या १९ लाख ९९ हजार मात्र थियो।

आर्थिक २०७८/०७९ र २०७७/०७८ को तुलनामा सो भन्दा अघिका आर्थिक वर्षहरुमा अझै धेरै सीमा भन्दा माथिका कारोबार संख्या रहेका थिए । पछिल्ला दुइ आर्थिक वर्षमा बैंकहरुले गोएमएल मार्फत रिपोर्टिङ गर्न थालेको हुनाले दोहोरीने समस्या हटेपछि सीमा माथिका कारोबार संख्या घटेको हो ।
सो भन्दा अघिका आर्थिक वर्ष २०७४/०७५ मा ४५ लाख ९३ हजार, २०७५/०७६ मा ५३ लाख ६४ हजार र २०७६/०७७ मा सीमा माथिका कारोबारहरुको संख्या २४ लाख ४१ हजार थिए । आर्थिक वर्ष २०७६/०७७ मा पनि गोएमएलका कारण कम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा सबैभन्दा धेरै बैंक वित्तीय संस्थाबाट सीमा भन्दा माथिको कारोबार भएको छ । सो अवधिमा बैंक वित्तीय संस्थाबाट १३ लाख ८४ हजार वटा सीमा नाघेका कारोबार भएको विवरण वित्तिय जानकारी इकाइमा रिपोर्टिङ भएको छ । त्यसैगरी गत आवमा धितोपत्र कारोबार गर्ने कम्पनीबाट ५ लाख ३२ हजार वटा कारोबार सीमा भन्दा माथिका भएका छन ।
त्यसैगरी बीमा कम्पनीहरुबाट एक लाख ९५ हजार, सहकारीबाट २ लाख ७४ हजार मानि चेन्जरबाट ३ हजार ९ सय, नागरिक लगानी कोषबाट ९ हजार ८ सय र अन्य बाट एक हजार ४ सय वटा सीमा भन्दा माथिका कारोबार भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया