सौन्दर्य साधनहरुको बिक्री बढेपछि युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ३४.८३ प्रतिशतले वृद्धि भएको छ । युनिलिभरले साउनदेखि असोज मसान्तसम्ममा ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले उत्पादन गर्ने स्याम्फू, साबुन, लगतायका सौन्दर्यमुलक सामग्रीहरुको माग तथा खपत बढेपछि कम्पनीको नाफा वृद्धि भएको छ । स्किन र हेयर केयरका प्रडक्टको बिक्री बढेपछि आम्दानी उत्साहजनक वृद्धि भएको कम्पनीको वित्तीय प्रतिवेदनमा उल्लेख छ । कम्पनीले लक्स, लाइफब्वाय, रिन, व्हिल,पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोज अप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ ।
असोज मसान्तसम्म कम्पनीले उत्पादन तथा बिक्रीबाट २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोअी अवधिमा यस्तो आम्दानी १ अर्ब ९८ करोड रुपैयाँ थियो । कम्पनीको अन्य स्रोतहरुबाट ४ करोड रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा २ करोड रुपैयाँ अन्य स्रोतहरुबाट कमाएको थियो ।

युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने वार्षिक प्रतिसेयर आम्दानी १ हजार ७२४ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँ रहेकोमा एक वर्षमा ६५२ रुपैयाँले बढेको हो । युनिलिभरको रिटेन्ड अर्निङमा ३ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १ हजार २३३ रुपैयाँ बढेर ४ हजार ३३७ रुपैयाँ कायम भएको छ ।
युनिलिभर नेपाल लिमिटेड नेपाली सेयर बजारमा सबैभन्दा धेरै सेयर।मूल्य रहेको कम्पनी हो । मंगलबार कम्पनीको सेयर असिन्तम पटक १९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । गत आवको नाफाबाट पनि कम्पनीले लगानीकर्तालाई प्रतिसेयर १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्दैछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया