नेपाल टेलिकमको नाफा खुम्चिदा प्रतिसेयर आम्दानी झण्डै ११ रुपैयाँले घट्यो

0
Shares

नेपाल टेलिकम (NTC) को नाफा खुम्चिएको छ । सेवा शुल्क कटौती गर्न थालेपछि कम्पनीको आम्दानी र नाफा दुवै खस्किएकोे हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा भन्दा १.५२ प्रतिशत अर्थात ३ करोड ४३ लाख ८० हजार कम हो। गत आवको सोही अवधिसम्म टेलिकमको नाफा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ थियो। 

कम्पनीको मुख्य आम्दानी घटेपनि अन्य आम्दानी भने बढेको छ । कम्पनीले दूरसञ्चार सेवा लगायत सेवा उपलब्ध गराए बापतको आम्दानी झण्डै ७० करोडले घटेको छ ।

२०७८ आश्विन मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा ०७९ आश्विन मसान्तसम्ममा ६९ करोड ७७ लाख ९ हजार अर्थात ७.१४ प्रतिशतले कमी भई ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको छ ।

कम्पनीको संचालन आम्दानी घटे पनि कुल आम्दानी भने बढेको छ । २०७८ आश्विन मसान्तसम्मको कुल आय १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा २०७९ आश्विन मसान्त सम्ममा कुल आय ८ करोड ७७ लाख ४३ हजार अर्थात् ०.८० प्रतिशतले वृद्धि भई ११ अर्ब ४ करोड ९० हजार पुगेको छ ।

कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब ७९ करोडले वृद्धि भएको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ७ करोड फरेन एक्सचेन्ज गेन भएको छ । कर्मचारीहरुको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च वृद्धि हुन गएको छ ।

दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको साथै कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी १८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको कम्पनीको जगेडा कोषमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ सञ्चित छ। नाफा घटेको र चुक्ता पूँजी बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।