डलर बलियो भएको असर विदेशी विनिमय सञ्चितिमा, असोजमा १३ करोडले बढ्यो


अमेरिकी डलर बलियो हुँदै गर्दा नेपालको विदेशी विनिमय सञ्चितिमा असर पुगेको छ । स्वदेशी रकममा विदेशी विनिमय सञ्चिति बढेको भएपनि अमेरिकी डलरमा घटेको हो । 

तर, भदौ महिनाको तुलनामा असोज महिनामा मात्र अमेरिकी डलरमै गणना गर्दा पनि १३ करोडले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा ९ अर्ब ३५ करोड डलर विदेशी सञ्चिति रहेकोमा असोजमा बढेर ९ अर्ब ४८ करोड डलर पुगेको हो । गत असार मसान्तको तुलनामा भने डलरमा विदेशी विनिमय सञ्चिति घटेको छ । 

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड रहेको विदेशी विनियम सञ्चिति असोज अन्तिमसम्ममा बढेर १२४६ अर्ब २२ करोड पुगेको छ । 

सरकारले विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि गत बैशाख देखि आयातमा नियन्त्रण गर्दै आएको छ । सरकारले आयात नियन्त्रण गरी विदेशी सञ्चितिमा परेको दबाब कम गर्न चालेको कदर सकारात्मक देखिएको छ ।

सरकारले आयात नियन्त्रणको नीति सीमित ४ वस्तुहरूमा अझै पनि कायम छ । सरकारले मङ्सिरसम्मका लागि मदिरा, ३ सय डलर बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल, जिप, कार र भ्यान आयातको प्रतिबन्ध गरेको छ । त्यसको सकारात्मक प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको हो ।

असोजसम्मको कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११०१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १४४ अर्ब ६२ करोड रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।