कालिन्चोक केबलकारले पायो १२ करोडको आईपीओ बिक्री अनुमति

0
Shares

कालिन्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई उक्त परिमाण्को साधारण सेयर निष्काशन गर्न कार्तिक २३ गते अनुमति दिएको हो ।

कम्पनीले जारी पुँजी ६० करोडको २० प्रतिशतले हुन आउने रकम सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले धितोपत्र बिक्री गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा चयन गरेको छ ।

आईपीओबाट प्राप्त हुने रकमले केवकारमा गोण्डुला थप्नेदेखि स्टार लेभलको होटल सञ्चालन गर्ने कम्पनीले जनाएको छ । पर्यटकहरुको आगमन तिव्र भएसँगै केवलकारमा थप २ वटासम्म गोण्डुला थप गर्ने कम्पनीको योजना रहेको छ । स्टार लेभल सुविधासम्पन्न होटलमा ३५ वटा कोठा रहने प्रस्ताव छ ।

कोरोना महामारीले पर्यटकको आगामनमा कमी आएपछि अघिल्लो वर्ष आम्दानी घटेपनि सन् २०२२ मा भने कम्पनीले आफ्नो आम्दानीमा उल्लेख्य सुधार गरेको छ । हालसम्म कम्पनीले ५० हजार पर्यटकलाई केबलकार सेवा प्रदान गरेको छ भने २ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएकाले सन् २०२२ मा गत वर्षको भन्दा यो वर्ष आम्दानी बढ्ने कालिञ्चोक केबलकारले जनाएको छ ।

सन् २०२१ मा कालिञ्चोक दर्शन लिमिटेडले ३ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

दोलखामा निजी लगानीमा सञ्चालित कालिञ्चोक केबलकारले कुरी उपत्यकाबाट कालिञ्चोकसम्म १ किलोमिटर लामो दूरीमा केबलकार सञ्चालन गरिरहेको छ । प्रतिघण्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता रहेको केवलकारमा ४ वटा गोन्डोला रहेका छन् । सेयर पूँजी २९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको ऋण २२ करोड २० लाख रुपैयाँ छ ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखामा सञ्चालन गरेको हो । कम्पनीमा ८५ जना संस्थापक लगानीकर्ताहरु (प्रवर्द्धकहरु) ले १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । बाँकी १२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

रेटिङ

कालिञ्चोक केबलकारले डबल बी रेटिङ प्लस इस्यूअर पाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सम्पन्न गरेको रेटिङमा क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी बी प्लस रेटिङ’ दिएको हो ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको कालिञ्चोक केबलकारलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । डबल बीबी प्लस रेटिङ प्राप्त संस्थाहरु वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको मानिन्छन् ।

रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘ए’ देखि ‘सी’ सम्म रेटिङ्ग प्रदान गर्दछ जसमा ए ले आधारभुत अवस्था बलियो रहेको देखाउँछ भने बी र सी ले क्रमश सोभन्दा कमजोर वित्तीय अवस्था रहेको जनाउँछ । रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ बीबी प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ । जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिन्ह तल रहन्छ ।

उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास सेयर विशेषको राय भने होइन । रेटिङले कम्पनीको कुनै धितोपत्र खरीद, बिक्री वा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन । साथै, यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।

कम्पनीका बारेमा

कालिञ्चोक दर्शन लिमिटेड जनवरी २०, २०१५ मा स्थापित भएको पब्लिक लिमिटेड कम्पनी हो । जसमा विभिन्न पृष्ठभूमिमा आबद्ध रहेका संस्थागत तथा व्यगित प्रवद्र्धकहरू रहेका छन् । कालिञ्चोकमा केबलकार परियोजना स्थापना र सञ्चालनका लागि सात सदस्यीय सञ्चालक समिति छ । जसमा हस्पिटालिटी र पर्यटनका विभिन्न क्षेत्रहरूमा अनुभव रहेको नेतृत्व छ ।

नेपाल लगानी बोर्डका सदस्य समेत रहेका बालकृष्ण शिवाकोटी बोर्डको अध्यक्ष भई नेतृत्व गरेका छन् । अध्यक्ष शिवाकोटी मेगा बैंक नेपाल लिमिटेड र जिरी चिया उद्योग (चिया प्रशोधन) का डाइरेक्टर भैसकेका व्यक्ति हुन् । यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीसँग पनि विभिन्न उद्योगहरूमा २० वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

काठमाडौंबाट करिब ६ घण्टाको दूरीमा रहेको केबुलकार आयोजना नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य स्थल हो । केबलकार सुविधाको शीर्ष स्टेशनमा अवस्थित कालिञ्चोक मन्दिरले धेरै तीर्थयात्रीहरूलाई आकर्षित गर्दछ । वर्षा सिजन बाहेक वर्षभरि नै दर्शकको चहलपहल कम हुने गर्दछ । यसको अतिरिक्त, जाडो समयमा मौसममा यस साइटले धेरै स्वदेशी र विदेशी पर्यटकहरूलाई पनि आकर्षित गर्दछ जो घुम्न र जाडोको लागि यो ठाउँको भ्रमण गछर्न । हाल यस क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य भैरहेकाले साहसिक खेल, पर्यटक आगमन, विशेष गरी आन्तरिक, थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

कालिन्चोक केबलकार लिमिटेडलाई तोकिएको मूल्याङ्कनमा भौगोलिक एकाग्रता जोखिम, सञ्चादनको सानो सतर, मौसमी रुपमा मात्र संकलन हुने राजस्व, प्रस्तावित होटल निर्माण र कार्यान्वयनको जोखिम, र अस्थीर बैंक ब्याजदरले असर पार्ने रेटिङ्ग रिर्पोटमा उल्लेख गरिएको छ ।

यस्तै अनुभवी प्रवर्दक, रणनीति स्थानमा परियोजना निर्माण हुनु, मध्यम पूँजी संरचना र स्थीर इक्विटी लगानी र ऋण सूचकहरू कोभिड माहामारीबाट सञ्चालन प्रभावित भए तापनि सुस्ताएको पर्यटन गतिविधिहरु गत आव र चालु आवमा चलायनमान भएसँगै आम्दानीमा वृद्धि हुनु सबल पक्ष रहेको रिर्पोटमा उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।