कोरोना बीमा दाबी रकम भुक्तानी गर्न कम्पनीको आनाकानी, मंगलबार देखि वितरण गर्न प्राधिकरणको आदेश

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले कोरोना दाबी रकम भुक्तानी गर्न आनाकानी गरेका छन् । कम्पनीको सञ्चालक समितिले दाबी रकम भुक्तानीका लागि रकम थप गर्न नमाने पछि भुक्तानीमा ढिलाई भएको बीमकहरुले बताएका छन् ।

भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमा दाबी रकममध्ये नेपाल सरकारले एक अर्ब रुपैयाँ प्राधिकरणलाई भुक्तानी गरि सकेको छ । प्राधिकरणले पनि आफनो हिस्साको रकम सहित नेपाल बीमक संघलाई भुक्तानी रकम हस्तान्तरण गरी सकेको छ ।

तर, बीमा कम्पनीहरुको हिस्सामा परेको रकम थप गर्न कम्पनीका सञ्चालक समिति नै तयार नभए पछि रकम भुक्तानी प्रक्रिया लम्बिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार कम्पनीका सञ्चालकहरु कोरोना बीमा दाबी रकम सरकारको दायित्व भएको भन्दै पन्छिन खोजेका छन् ।

आगामी मंगलबार देखि भुक्तानी गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले आगामी मंगलबार देखि कोरोना बीमा दाबी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । दायित्व रकम सरकारले भुक्तानी गरी सकेको अवस्थामा पनि कम्पनीहरुले भुक्तानी गर्न आनाकानी गरेपछि प्राधिकरणले छलफलका लागि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेको थियो । छलफलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु आगामी मंगलबार देखि भुक्तानी गर्न शुरु गर्न सहमत भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुमा परेको दाबीमध्ये करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोरोना बीमा मापदण्ड बमोजिम सो रकम सरकारको दायित्व अन्र्तगत पर्छ । बीमा कम्पनीहरुमा परेको तीन अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबीको दायित्व सरकारले आफैले लिने सहमती गरे पनि भुक्तानी गर्न भने हच्किएको थियो । अन्तत् सरकारले ढिलै गरी भए पनि कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणको प्रस्ताव अनुसार सरकारले भुक्तानी गरेको रकमलाई ५५ प्रतिशत मानि ४५ प्रतिशत रकम प्राधिकरण, बीमा कम्पनी र नेपाल पुर्नबिमा कम्पनीले थप गर्नुपर्नेछ । तर, सो रकम थप गर्न बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक असहमत भएका छन । नेपाल पुर्नबीमा कम्पनीले थप रकम भुक्तानी गर्न नसक्ने भन्दै प्राधिकरणलाई औपचारिक रुपमा नै पत्राचार गरि सकेको छ।

वित्तीय विवरणमा असर नपर्ने

नेपाल बीमक संघले बीमा कम्पनीको वित्तीय विवरणमा कुनै पनि असर नपर्ने भन्दै ढुक्क भएर कोरोना दाबी रकम भुक्तानी गर्न बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । संघले गत शुक्रबार पत्राचार गरी सबै कम्पनीहरुलाई आ आफनो हिस्साको भुक्तानी गर्न आदेश दिएको हो ।

संघले कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढि भुक्तानी आकष्मिक बीमाकोषबाट मिलान गरि संचित मुनाफामा सार्न सकिने कम्पनीहरुलाई जानकारी गराएको छ । सो खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदने बीमा प्राधिकरणले आश्वासन दिएको समेत बताएको छ । जसका कारण बीमकहरुको वित्तिय विवरणमा खासै ठूलो असर नपर्ने संघले जनाएको छ ।

नेपाल सरकारले भुक्तानी गरेको रकममा ४५ प्रतिशत रकम थप गर्नुपर्नेमा बीमा समितिको हिस्सामा ८ प्रतिशत परेको छ । प्राधिकरणले आफनो हिस्साको १४ करोड ५४ लाख रुपैयाँ नेपाल बीमक संघलाई हस्तान्तरण गरि सकेको छ । त्यस्तै, नेपाल पुर्नबिमा कम्पनीको हिस्सामा १२ अर्थात् २१ करोड १८ लाख रुपैयाँ पर्न आउँछ । बीमा कम्पनीहरुको हिस्सामा भने २५ प्रतिशत अर्थात् ४५ करोड ४५ लाख रुपैयाँ पर्न आउँछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।