अजोड इन्स्योरेन्स र रिडी पावरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का रहेको सेयर कारोबार आज सोमबारदेखि खुल्दैछ ।
मर्जरमा रहेकाले अजोड र लाभांश प्रस्तावमा गडबढी गरेपछि रिडीको सेयर कारोबार आइतबारसम्म नेप्सेमा रोक्का थियो । आइतबार नेप्सेले सूचना जारी गर्दै दुबै कम्पनीको सोमबारदेखि सेयर कारोबार हुने जनाएको हो ।
नेप्सेले अजोड इन्स्योरेन्सकोे आधारभुत बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।
अजोड र प्रभु इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिएको थियो । प्रभु इन्सयोरेन्सको यसअघि नै कारोबार फुकुवा भैसकेको छ ।
उता सोमबारदेखि रिडी पावर कम्पनीको पनि सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले गत मंसिर ६ गते कारोबार समयमा सञ्चालक समितिको बैठक बसी आव २०७८।७९ को लाभांश घोषणा गरेको थियो । सो सम्बन्धी जानकारी कम्पनीले कारोबार समयपश्चात मात्र नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोक्का राखेको थियो ।
कम्पनीको मंसिर ७ गते र मंसिर १८ गते पत्र पठाउँदै भुलबस समय अन्यथा हुन पुगेको भन्दै क्षमायाचना मागेको र अब उप्रान्त त्यस्तो कमीकमजोरी नगर्ने प्रतिबद्धता ब्यक्त गरेपछि कारोबार फुकुवा गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया