सेयर बजारकै महङ्गको युनिलिभरको नाफा १.५४ अर्ब माथि, १२१५% लाभांश पारित

0
Shares

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड १९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीले ६८ करोड ११ लाख अर्थात ७९.१२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८६ करोड ८ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँका दरले लाभांश वितरण गरेको छ । होटल एभरेष्ट काठमाण्डौंमा मंगलबार सम्पन्न भएको साधारण सभाले कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँकाे १२१५ प्रतिशतले हुने १ अर्ब ११ करोड ८६ लाख ५० हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सेयर बजारकै महङ्गको कम्पनी युनिलिभरको व्यापार र नाफामा आकर्षक बढोत्तरी आएको हो । कम्पनीको व्यापार २८.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ७८ करोड ९५ लाख ब्यापार गरेको कम्पनीको ब्यापार गत आवमा बढेर ७ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ पुगेको हो । कम्पनीले अन्यस्रोतबाट पनि १२ करोड १७ लाख आम्दानी गरेको छ ।

युनिलिभरका प्रबन्ध सञ्चालक मुखर्जीले बुझे एक वर्षमै ८ करोड तलब भत्ता

कम्पनीको व्यापार बढेसँगै कच्चापदार्थ लगायतको खपत पनि बढेको छ । गत आवमा कम्पनीले कच्चापदर्थामा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तै खर्च ३ अर्ब १४ करोड ७३ लाख थियो ।

त्यस्तै कर्मचारी खर्च पनि ३८ करोड १२ लाख ७६ हजारबाट बढेर ५२ करोड ३३ लाख २१ हजार पुगेको छ । कम्पनीले गत आवमा कुल ५ अर्ब ५७ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ ।

२०७९ असोज मसान्तको प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ भने सेयरधनी कोषमा ३ अर्ब ९० करोड ७ लाख रुपैयाँ छ । कम्पनीको प्रति सेयर १७२४ तथा प्रति सेयर नेटवर्थ पनि ४३३७ रुपैयाँ पुगेको छ ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । युनिलिभरको सेयर मंसिर २० गते मंगलबार प्रतिकित्ता १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६ण् कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।