चालू आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा सरकारको बजेट खर्च करिब २८ प्रतिशत रहेको छ । चालु आवको साउनदेखि पुस १६ गतेसम्म सरकारले २७.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
चालू आवका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। जसमध्ये पुस १६ गतेसम्ममा ४ खर्ब ९९ अर्ब २ करोड ८४ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
यस अवधिमा सरकारको पुँजीगत खर्च ११ नाघेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस १६ गतेसम्म संघीय सरकारको पुँजीगत खर्च ४२ अर्ब ४५ करोड २२ लाख बराबर छ।
चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट छुट्याएको छ। हालसम्मको पुँजीगत खर्च ११.१६ प्रतिशत मात्र छ।
त्यस्तै, चालू शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म ३३.२३ प्रतिशत खर्च भएको छ। जुन ३ खर्ब ९३ अर्ब १४ करोड ७७ लाख बराबर हो।
वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकोमा यस अवधिसम्म ६३ अर्ब ४२ करोड ८५ लाख बराबर खर्च भएको छ। जुन विनियोजित बजेटको २७.५५ प्रतिशत हो ।
यही अवधिमा सरकारको राजस्व संकलन २५ प्रतिशत बराबर छ। चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य छ।
हालसम्म आन्तरिक राजस्व संकलन ३ खर्ब ५० अर्ब ९४ करोड ९६ लाख अर्थात्त वार्षिक लक्ष्यको २५.१ प्रतिशत छ । यसअवधिमा कर राजस्व २५ प्रतिशत र गैरकर राजस्व २५.११ प्रतिशत उठेको छ । साथै, यस अवधिमा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख अर्थात वार्षिक लक्ष्यको ६.१६ प्रतिशत वैदेशिक अनुदान लिएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया