१४ करोडको पूँजी ६३ पुर्याउँदा आरएसडिसी लघुवित्तको यस्तो अवस्था


थोक लघुवित्त सेवाप्रदायक आरएसडिसी लघुवित्तले फराकिलो अन्तरले चुक्ता पूँजी बढाउँदै जाँदा प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न सकेन । प्राथमिक शेयर निष्काशन गरे लगत्तै भारी मात्रामा हकप्रद बेचेको लघुवित्तको एक कित्ता शेयरले ९ रुपैंया मात्र कमाउन सकेको छ ।

आरएसडिसीले चालु आर्थिक वर्षको तेस्रो तेस्रो त्रैमासमा ४ करोड २८ लाख १५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ३० लाख ६७ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद नाफामा आकर्षक सुधार भएको हो ।

तर यो अवधिमा लघुवित्तले अधिक मात्रामा चुक्ता पूँजी बिस्तार गर्दा लाभांस क्षमतामा ह्रास आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३६ करोड रुपैंया रहेको चुक्ता पूँजीलाई अहिले ६३ करोड ३५ लाख रुपैंया पुर्याएको छ । स्मरण होस्, आरएसडिसीले साधारण शेयर निष्काशन गर्नु पहिले १४ करोड पूँजीमा ६ करोडको आईपिओ निष्काशन गरेर २० करोड पूँजी पुर्याएको थियो । त्यस पछिका दिनमा हकप्रद माथि हकप्रद गर्दै लघुवित्तले पूँजी बिस्तार गरेको थियो ।

लघुवित्तको जगेडा कोषमा १४ करोड रुपैंया छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैंया ३४ पैसा छ । निष्कृय कर्जा अनुपात ०.३० प्रतिशत रहेको लघुवित्तको कोषको लागत १०.७४ प्रतिशत छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.०५ गूणाले बढी छ ।