वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्न थालेको छ । सडकका ठाउँठाउँमा खटिएका नगरप्रहरी र सफाईकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिबाना तिराउने गरेका छन् ।
सडकमा जथाभावी फोहोर फाल्नेमा यहाँका वित्तीय संस्था अघि देखिएका छन् । मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।
यस्तै शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ र महालक्ष्मी फ्लावर पसललाई ५०० रुपैयाँ जरिबाना गरिएको पनि संयोजक खेतानले बताए । फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको पनि उनले जानकारी दिए ।
पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिबाना गर्न लागिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् ।

‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिबाना तिराउन थालेका हौँ ।’
अहिले दैनिक जसो वित्तीय संस्था र पसललाई जरिवाना तिराइँदै आएको छ । यसअघि कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिवाना तिराइएको थियो । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।
अहिले नगर हरियाली र सफा बनाई राख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया