सेयर बजारमा भारी गिरावट, सूचकमा ४१ अंकको पहिरो

0
Shares

साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा बजारमा भारी गिरावट आउँदा बिहीबार बजार सूचक नेप्से ४१.०२ अंकले घटेर सूचक २१४९.४१ बिन्दुमा झरेको हो ।

टाठाबाठा लगानीकर्ताहरुले सरकारको विश्वासको मत लिने समयको छेको पारेर निरन्तर सेयर बजार बढाएर बिक्री गरेर बजारबाट बाहिरिएका हुन् । कर्जाबाट सेयर बजारमा लगानी गर्दा आएका ठूला लगानीकर्तालाई पुस मसान्तमा कर्जाको साँवा तथा ब्याज चुक्ता गर्ने दबाब थियो । सोही कारण नयाँ सरकार गठनपछिका अधिकांश दिनहरुमा बजार उच्च रुपमा बढ्दै आएको थियो ।

मंगलबारको बजारमा ६५ अंकसम्म वृद्धि गरेर बजारबाट ठूला खेलाडी निष्कँदा बजारमा करि १०० अंकको उतारचढवा उक्त दिन बजारले ब्यहोरेको थियो । बजार बन्द हुँदा २१ अंकले बजार घटेर बन्द भएको थियो । सरकारले पृथ्वीनाराण शाहको जन्मोत्सवको अवसरमा बुधबार सर्वाजनिक विदा दिएको थियो । बिहीबार बजारको गिरावट थप गहिरिएर ४१ अंक माथि पुगेको हो ।

अनुभवी टाठा लगानीकर्ताहरुबाट रचिएको सेयर बजारको जालो बुझ्न नसक्दा बजार बढ्ने आशामा भर्खरै प्रवेश गरेका नयाँ लगानीकर्ताहरु भने बजारको घटाइबाट प्रताडित बनेका छन् ।

यससँगै यो साताका लागि बजार २१४९.४१ बिन्दुमा अडिएको छ । बजारमा २५२ कम्पनीका १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । ८३ हजार ११३ वटा संख्यामा भएको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२५ रुपैयाँमा कारोबार रकम समेटिएको छ ।

घट्दो बजारमा कुल ५ अर्ब ४७ करोडमाथिको कारोबार भएकोमा शिवम् सिमेन्ट्सको सर्वाधिक २२ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावरको १७ करोड ८३ लाख, ङादी ग्रुप पावरको १६ करोड ९४ लाख, अपि पावरको १४ करोड ४ लाख र अपर तामाकोशीको १२ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबारको बजारमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजनाको इकाई, सिंगटी हाईड्रोपावर, बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २ को इकाई ९.३० प्रतिशत, मध्य भोटेकोशी जलविद्युत कम्पनी ७.६१, आर्दश लघुवित्त ६.१०, प्रभु सेलेक्ट फण्ड ५.८२, कुमारी इक्वीटी फण्ड ४.२२ , हिमालयन उर्जा विकास कम्पनी ३.७८ र गरिमा डिवेञ्चर २०८५ को मूल्य ३.६८ प्रतिशतले वृद्धि भएको छ ।

आजको बजारमा सर्वाधिक गुमाउने १० कम्पनीहरुमध्ये गुराँस लघुवित्त शीर्ष स्थानमा रहेको छ । लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशतले घटेर ८८२ रुपैयाँमा झरेको छ । त्यस्तै, कालिका पावर कम्पनीको ८.४८ प्रतिशत, बलेफी हाइड्रोपावरको ७.४४, स्वावलम्वन लघुवित्तको ७.३१ र खप्तड लघुवित्तको ७.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ७.२५ प्रतिशत, श्री इनभेष्ट एण्ड फाइनान्सको ७.०४, अजोड इन्स्योेरेन्स ६.९८, श्वेतगंगा हाइड्रोपावर ६.८४ र एनएमबि लघुवित्तका सेयरधनीले आजको बजारबाट ६.६१ प्रतिशतका दरले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।