कालिञ्चोक दर्शनको आईपीओमा १५ गुणा आवेदन, १ अर्ब ३३ करोडको सेयर माग

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा तेस्रो दिनसम्म मागको तुलनामा १४.९४ गुणा बढी आवेदन परेको छ ।

माघ ३ गतेदेखि सेयर बिक्रीमा ल्याएको कम्पनीको सेयरमा बिहीबार साँझ ४ बजे सम्ममा करिब साढे ११ लाख वटा आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज ४ बजेसम्म ११ लाख ४७ हजार ५०२ आवेदनबाट १ अर्ब ३३ करोड ९१ करोड ८१ हजार मूल्यको १ करोड ३३ लाख ९१ हजार ८१० कित्ता सेयरको माग परेको हो ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत ८ लाख ९६ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट माग गरेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरेको छ ।

बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ माघ ६ गतेसम्म मात्र खुला रहनेछ । सर्वसाधारणलाई कुल १२ करोडको आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ कायम हुनेछ ।

कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट करीब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा २०७५ कात्तिक १७ गतेदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्दै आएको छ । केबलकार ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म सञ्चालनमा छ । कम्पनीले केबलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्युजमेन्ट पार्कलगायत परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।