रिटेल पेमेन्ट स्वीच मार्फत १८ खर्बको कारोबार, ५५ बैंक वित्तीय संस्था आबद्ध

0
Shares

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पुसमसान्त सम्म १८ खर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ ।

उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले बृद्धी भएको एनसीएचएलले जनाएको छ । त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले बृद्धी भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत १३ खर्ब ३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६०% बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । आरपीएस अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई मार्फत उपलब्ध रहेका छन् ।

आरपीएस अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपीआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपीआईले आरपीएससंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । आरपीएस अन्तर्गत हालै भिपीएमा आधारित भुक्तानी, रिक्वेस्ट टु पे, ई म्यानडेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपालपे क्यूआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

आरपीएसमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाख रुपैयाँ सम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा एक करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ।

आरपीएस अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एप मार्फत प्रति कारोबार२ लाख सम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआईपिएसमा आफ्ना एक वा सो भन्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्ल्याट्फर्म मार्फत भुक्तानी गर्न सक्ने एनसीएचएल जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।