सुपरमाई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि बिक्रीमा आउने

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ ।

माघ २६ गतेसम्म आवेदन दिन सकिने लघुवित्त कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई आरक्षित गरिएको छ । सामूहिक लगानी कोषहरुलाई २५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि १० हजार कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ ।

सुपरमाई हाइड्रोपावरले ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना निमार्ण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको लागत प्रति मेगावाट १९ करोड ८ लाखका दरले १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ छ ।

आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ५.७९ वर्ष र डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७।२७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र विसं २१०८ फागुन २९ गतेसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।