प्राधिकरणको निर्देशनलाई लत्याउँदै अटेरी बीमा कम्पनी

0
Shares

नेपाल बीमा प्राधिकरणको निर्देशनलाई लत्याउँदै केही बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउने प्रक्रियामा आनाकानी गरी रहेका छन् । प्रभु इन्स्योरेन्स कम्पनी, एलएलजी इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी जुटाउने प्रक्रियामा आनाकानी गरेका छन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । कम्पनीहरुले आगामी चैतमसान्तसम्ममा पुँजी कायम गरि सक्नुपर्नेछ । तर, सो कम्पनीहरुले भने पुँजी कायम गर्नका लागि कुनै पनि प्रक्रिया अगाडी नबढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पुँजी कायम गर्नका लागि मर्जर, बोनश शेयर तथा पुँजी थप गर्न सक्ने विकल्प दिएको छ । त्यस्तै, क्रस होल्डिङ्ग भएका कम्पनीलाई अनिवार्य रुपमा मर्जरमा जान भनेको छ । यद्यपी कम्पनीहरुले मर्जरको प्रक्रिया समेत अगाडी बढाएका छैनन् ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी, पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनी बिच क्रस होल्डिङ्ग छ । नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल समुहको २१ प्रतिशत लगानी छ भने प्रुडेन्सियल इन्स्योरेन्समा मुख्य लगानी भएको विशाल समूहको १२ प्रतिशत लगानी छ ।

त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स कम्पनीमा आईएमई समूहको मुख्य लगानी रहेको छ । लगानीको आधारमा नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्समा चन्द्र ढकाल समुहको क्रस होल्डिङ्ग छ भने नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा विशाल समुहको क्रस होल्डिङ्ग छ ।

प्राधिकरणले एकै किसिमका दुइ वा दुई भन्दा बढी बीमा कम्पनीमा एक प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरेको छ । एकै खालका कम्पनीमा एउटै लगानीकर्ता सहभागी हुँदा स्वार्थ बाझिने हुँदा प्राधिकरणले क्रस होल्डिङ्ग भएका कम्पनीलाई अनिवार्य रुपमा मर्जरमा जान भनेको छ ।

तर, मर्जरको प्रक्रियामा अगाडी नबढाए पछि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई प्राधिकरणले पटक पटक बोलाएर प्रष्टीकरण लिएको छ । यद्यपी कम्पनीहरु कुनै पनि निर्णयमा नपुगेको प्राधिकरणको भनाई छ ।

त्यस्तै, अजोड इन्स्योरेन्ससँग मर्जरको सहमती गरेर पनि तोडेको प्रभु इन्स्योरेन्स पनि अर्को प्रक्रिया अगाडी बढाएको छैन । साथै एनलएलजी इन्स्योरेन्सले पनि पुँजी प्रक्रियामा आनाकानी गरेको छ । प्राधिकरणले भने एनएलजीको माउ कम्पनी नेशनल लाइफ इन्स्योरेन्स पुँजी थप गर्ने निर्णय गरेको बताईरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।