एजीएमबाट पारित नगद लाभांश धमाधम वितरण हुँदै, थप तीन कम्पनीले जम्मा गरे

0
Shares

सूचीकृत कम्पनीहरुले साधारण सभाबाट पारित भएको नगद लाभांश धमाधम वितरण गर्न थालेका छन् ।

पछिल्लो दिनमा मात्रै तीन कम्पनीहरु शिवम् सिमेन्ट्स, चिलिमे जलविद्युत् कम्पनी र फरवार्ड माइक्रोफाइनान्सले नगद लाभांश वितरणको सूचना निकालेका छन् । तीनवटै कम्पनीले साधारण सभाको लागि गरिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा आईपीएस मार्फत नगद लाभांश वितरण गरेका हुन् ।

शिवम् सिमेन्टसले चुक्ता पुँजीको १०.५३ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनीले ७.५० प्रतिशत र फरवार्ड लघुवित्तले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका थिए । सो नगद लाभांशमा करकट्टी गरी बाँकी रकम पठाइएको हो ।

शिवम् सिमेन्ट्स

शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ ५ गते देखि १०.५३  नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । 

शिवम् सिमेन्ट्सको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले कर सहित चुक्ता पुँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न सुरू गरिएको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुकक्लोज गरेको थियो । जसअनुसार आधारमा पुस १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

शिवमको पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश खातामा जम्मा गरिएको हो ।

चिलिमे जलविद्युत्

चिलिमे जलविद्युत् कम्पनीले पनि माघ ५ गतेबाट आर्थिक वर्ष २०७८–७९ को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरेको हो ।

चिलिमेको पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ७.५ प्रतिशत नगद लाभांश र ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्स

फरवार्ड माइक्रोफाइनान्सले पनि माघ १५ गतेदेखि चूक्ता पुँजीको ५ प्रतिशत नगदलाभांश सेयरधनीको खातामा पठाउन सुरु गरेको छ ।
लघुवित्त संस्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई नगद लाभांश पठाउन सुरु गरेको हो ।

कम्पनीको पुस ३० गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सबै कम्पनीहरुले सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेका छन् । खाता अद्यावधिकपछि मात्र हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै नगद लाभांश वितरण हुनेछ । साथै आफ्नो शेयर धितो राखेका सेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र सम्बन्धी कम्पनीको सेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न सेयरधनीलाई अनुरोध गरिएको छ ।

शिवम् सिमेन्ट्स र चिलिमे जलविद्युत् कम्पनीको सेयर रजिष्ट्रारमा रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र फरवार्ड माइक्रोफाइनान्सको रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी नक्साल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।