९ अर्ब ६२ करोडका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीको स्वामित्व हस्तान्तरण

0
Shares

आयोजना कार्यान्वयन निर्देशनालयले निर्देशनालय अन्तर्गतको मेलम्ची खानेपानी उप–आयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल ९ अर्ब ६२ करोड बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।

उप–आयोजना–२ बाट काठमाडौंको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्दमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौंका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छइएका थोक वितरण प्रणालीका ४०० मि.मि. देखि १,४०० मि.मि. ब्याससम्मका ठूला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको हो ।

यही माघ १६ गते आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको हो ।

खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौतापत्रमा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरे ।

त्यस अवसरमा आयोजना निर्देशक सापकोटाले थोक वितरण प्रणालीका संचालन निर्देशिका, जगेडा पाइप तथा फिटिङ्स, दुईवटा सवारीसाधन, थोक वितरण प्रणालीको नक्सा, जिआईएस नक्सा र परीक्षण प्रमाणपत्र बोर्डलाई हस्तान्तरण गरे।

आयोजना कार्यान्वयन निर्देशनालयबाट स्वामित्व लिएपश्चात बोर्डले तत्कालै शुरू हुनेगरी थोक वितरण प्रणालीको संचालन, मर्मत सम्भार र खानेपानीको गुणस्तर कायम गर्ने कार्यको जिम्मा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई दिने व्यवस्था रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।