सेयर लगानीकर्ताका तीन संस्थाले राष्ट्र बैंकलाई दिए चार सुझाव

0
Shares

सेयर लगानीकर्ताका तीन वटा संस्थाले नेपाल राष्ट्र बैंकलाई अर्धवार्षिक मौद्रिक नीति समीक्षाका लागि चार सुझाव दिएका छन् ।

लगानीकर्ताहरुले १२ करोड सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन आग्रह गर्दै खस्कँदो अवस्थामा रहेको पूँजीबजारलाई पुनरुत्थान गरिदिन अनुरोध गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल अध्यक्ष, सेयर लगानीकर्ता संघका का।वा अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ३२ सय अंकबाट २०९० अंकमा झरेको बजारलाई उकास्न १२ करोड सम्मको सेयर कर्जाको सीमा हटाउनु पर्ने माग गरेका हुन् ।

यस्तै आ.व. २०७९/८० को आषाढ १ गते देखि सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने उनीहरुको माग छ ।

विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्कमा कायम गरिनुपर्ने साथै तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेका हुन ।

सेयर बजारको पूँजीकरण करिब ४५ खर्ब भन्दा बढी पुगिसकेको अवस्थामा हाल आएर ३० खर्बको तल्लो अङ्गमा झरिसकेको छ । करिब १५ खर्बको नोक्सानीले लगानीकर्ताको मनोबल गिर्न गई आफ्नो सम्पत्तिको नोक्सानीले अत्यन्त मर्माहत र दुःखि भएका लगानीकर्ताका संस्थाहरुको भनाई छ ।

“पूँजीबजार देशको अर्थतन्त्रको ऐना हो” भन्ने मान्यतालाई आत्मसात गर्दै हामी लगानीकर्ताहरूले यस क्षेत्रमा लगानी गरेतापनि राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभुति नपाएको भन्दै राष्ट्र बैंकबाट पूँजीबजारलाई तत्काल पुनरुत्थान गरिदिन आग्रह समेत गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।