सेयर बजारमा ४४ अंकको उतार-चढाव, नाफा सुरक्षित गर्ने बढ्दा घटेर बन्द भयो नेप्से

0
Shares

सेयर बजारमा बुधबार ४३.७० अंकको उतार-चढाव देखिएको छ । बिहान ११ः३५ मा ३५.६५ अंकसम्म बढेर २२१३.८९ बिन्दुसम्म पुगेकोले नेप्से अन्तिममा २१७०.१८ बिन्दुमा झरेर बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको विवरणमा मुलुकको बाह्य क्षेत्र सहित अधिकांश सूचकमा आशातित सुधार भएपछि मंगलबार नेप्से ७६ अंकको उच्च बढोत्तरी सहित बन्द भएको थियो । पछिल्लो दुई दिनमा नै १२० अंकको वृद्धि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार सूचक नेप्से दबाबमा पुगेको हो ।

अल्पकालीन लगानीकर्ताहरुबाट बिक्री चाप बढेसँगै नेप्से साढे ११ पछि ओरालो लाग्न थालेको थियो । करिब आधा दर्जन पटक माथि उठ्न खोजेपनि बिक्री चापका कारण नेप्सेमा निरन्तर दबाब देखिएको हो ।

बुधबार यस दिन ७.१६ अंक घटेर बन्द २१७०.१८ भएको छ । नेप्से घटेपनि बिक्री बढेपछि कारोबार रकम बढेको छ । यसदिन ३३ करोडले कारोबार रकम बढेर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसदिन २५७ कम्पनीका १ करोड ५ लाख २ हजार कित्ता सेयर ५५ हजार ६०२ वटा संख्यामा कारोबार भएको हो ।

कारोबारमा आएका १३ मध्ये अन्य बाहेक सबै १२ वटै उपसमूहगत परिसूचक घटेको छ । अन्य ०.५० प्रतिशत बढेको छ भने घटेका १२ उपसमूहमध्ये वित्त सर्वाधिक १.९२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ ।

हकप्रद ल्याउने चर्चासँगै नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

त्यसैगरी अपि पावरको १० करोड २१ लाख, ङादी ग्रुप पावर ८ करोड ९५ लाख, एनआईसी एशिया बैंक ८ करोड १८ लाख र शिवम् सिमेन्टको ७ करोड ६१ लख रुपैयाँ बढीको सेयर कारोबारमा आएको छ ।

बुधबारको बजारबाट तेह्रथुम पावर कम्पनी र धौलागिरी लघुवित्तका सेयरधनीले ३ प्रतिशतभन्दा धेरै नाफा कमाएका छन् । राद्यी विद्युत, प्राइम लाइफ र सबैको लघुवित्तको सेयरमूल्य साढे २ प्रतिशतले बढेको छ ।

पछिल्लो १० कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लागेर सेयरमूल्य बढ्दै आएको आदर्श लघुवित्तको नाफा उच्च घटेसँगै आज सर्वाधिक ५.१४ प्रतिशत घटेको छ । त्यसैगरी पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत, ग्रीन भेञ्चर ३.८८, राष्ट्र उत्थान लघुवित्त ३.३५ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.०८ प्रतिशतले घटेको छ ।

बुधबारको बजारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ३१ अर्ब ६९ करोड १५ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।