कारोबार रोक्का गर्दै विजय लघुवित्तसँग नेप्सेले माग्यो तीन दिने स्पष्टिकरण

0
Shares

विजय लघुवित्तसँग नेप्सेले तीन दिने स्पष्टिकरण सोधेको छ । लघुवित्तले लाभांश प्रस्तावको निर्णयको सार्वजनिक जानकारी १६ दिनपछि गराएपछि कारोबार रोक्का गर्दै नेप्सेले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले माघ १० गते बैठक बसेर लाभांश प्रस्ताव गरेको भएपनि नेप्सेमा भने नेप्सेको नट्समा माघ २५ गते बेलुका ६ः३५ बजे मात्र जानकारी दिएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा गरिएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने हुन्छ । सो व्यवस्था उल्लङ्घन गरेपछि नेप्सेले के कति कारणले समयमा नै उक्त सूचना जानकारी नदिएको हो ? भन्दै स्पष्टिकरण पेश गर्न भनेको छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।