यूनियन लाइफको लाभांश तथा मर्जर एजेण्डा पारित, सेयर संरचना परिमार्जन गर्ने

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सको माघ २६ गते भैरहवामा सम्पन्न पाँचौं बार्षिक साधारण सभाले ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को लागि सो बोनश दिने भएको हो । बोनश सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

सो साधारण सभाले कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पुँजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयर मध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्यगर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७/७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।