डिज्नीले ७ हजार कर्मचारी कटौती गर्दै, ५ अर्ब ५० करोड डलर बचत हुने

0
Shares

मनोरञ्जन क्षेत्रको शीर्ष मास मिडिया कम्पनी डिज्नीले ७ हजार बढी कर्मचारी कटौती गर्ने भएको छ ।

डिज्नी प्लसको सब्सक्राइबरमा कमी आएपछि कम्पनीको आम्दानीमा असर परेको र वर्तमान समयमा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै कम्पनीले कर्मचारी कटौती गर्ने भएको हो ।

कर्मचारी कटौती पछि डिज्नीको कुल खर्चमा ५ अर्ब ५० करोड डलर बचत हुने कम्पनीका कार्यकारी अधिकृत बोब इगरले जनाएका छन् । डिज्नीले विश्वभरबाट कुल कर्मचारीको ३.६ प्रतिशत सङ्ख्या कटौती गर्ने घोषणा गरेको छ ।

कर्मचारी कटौतीका विषयमा बोल्दै इगरले कर्मचारीहरुको दक्षता र उनीहरुले कम्पनीका लागि गरेको कामको प्रशंसा गरेका छन् । कर्मचारी कटौतीले कर्मचारीहरुको व्यक्तिगत जीवनमा सिर्जना गर्ने समस्याहरुदेखि आफू परिचित रहेता पनि कम्पनी निरन्तर घाटामा गइरहेका कारण कर्मचारी कटौती गर्न बाध्य रहेको बताए ।

सन् २०२२मा डिज्नका सब्सक्राइबरको सङ्ख्या १६ करोड १८ लाखबाट घटेर २४ लाखमा पुगेका छन् । जसकारण कम्पनीको आम्दानीमा १ अर्ब ५० करोड डलर भन्दै बढीको गिरावट आएको छ ।

विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको कारण देखाउँदै अहिले आइटी कम्पनी, बैंक तथा वित्तीय संस्था र पछिल्लो समयमा मिडिया कम्पनीहरुले पनि ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेका छन् ।

यस अघि माइक्रोसफ्ट, गुगल, ट्वीटर, स्नापच्याट, गोल्डम्यान स्याच, बोइङ लगायतका थुप्रै कम्पनीहरुले कर्मचारी कटौती गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।