सगरमाथा इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वढ्यो, मूल्य आम्दानी अनुपात ९५ गुणा


सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड एक लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३५.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
कम्पनीले यस अवधिमा ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३१ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनी पुनर्र्बीमा कमिशन आयबाट ८ करोड १७ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । हाल एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ८ करोड ७ लाख रुपैयाँ छ ।
हाल सम्म कम्पनीले ६७ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ४३ हजार ९ सय १६ बीमालेख जारी गरेका छ । यस अवधिमा १० हजार ३४० बीमालेख नवीकरण भएका छन ।
कम्पनीले एक हजार ५ सय ७९ दाबी संख्या वापत २३ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३ हजार एक सय ९० दाबी वापत १० करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९६.१७ रुपैयाँ र मुल्य आम्दानी अनुपात ९५.७२ गुणा छ ।