मौद्रिक नीतिको समीक्षाबाट ब्याजदर घटाउने ठोस उपाय देखिएन, अर्थतन्त्र चलायमान हुन कठिन

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ब्याजदर घटाउने ठोस उपाय नदेखिएको भन्दै ब्याजदर नघट्ने हो भने तत्काल अर्थतन्त्र चलायमान हुनभने कठिन हुने बताएको छ ।

समीक्षाबारे आफ्नो धारणा राख्दै महासंघले २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्थालाई बढाएर १० करोड कायम गर्न माग गरेको छ ।

समीक्षा मार्फत राष्ट्र बैंकले साना मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सक्रिय वर्गमा २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा÷व्याज दायित्व भाखा नाघेको १ महिना भित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

महासंघको आग्रह बमोजिम समीक्षाले कर्जाको साँवा ब्याज भुक्तानी समयावधि लगायतका विषयमा नीतिगत परिवर्तन गरेको थियो । यो व्यवस्थाले विद्यमान जटिल आर्थिक परिस्थितिमा उद्यमी व्यवसायीलाई केहि राहत पुग्ने महासंघले जनाएको छ ।

यसैगरि दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत व्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाउने बिषय पनि समीक्षामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।