अभियान लघुवित्तले बढायो नाफा

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्म ११ दशमलव ४६ प्रतिशतले नाफा वृद्धि गरेको छ । खुद ब्याज आम्दानी घटेपनि कम्पनीले गैह्र सञ्चालन आम्दानीबट पौने दुई करोड कमाएपछि नाफा सुधारिएको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५४ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ३८ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४० लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ५ करोड ४३ लाख ८९ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी १८.९९ प्रतिशत घटेको हो ।

गत आवको शुन्य रहेको कम्पनीको गैह्र सञ्चालन आम्दानी १ करोड ७५ लाख ६१ हजार रुपैयाँ पुगेसँगै कम्पनीको मुनाफामा बढोत्तरी आएको हो ।

चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा, प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ६०.३३ गुणा छ ।

चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट ५३ करोड ८९ लाख सापटी, ३० करोड २१ लाख निक्षेप संकलन गरेर २ अर्ब ७ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको सञ्चालन नाफा ७२ प्रतिशत धेरै घटर ६० लाख ९१ हजारमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा २ करोड २० लाख ५१ हजार रहेको थियो ।

कम्पनीको जगेडा कोषको आकार २ करोड २० लाख ६० हजारबाट ५५.६८ प्रतिशत बढेर ४ करोड ९७ लाख ६९ हजार रुपैयाँ सञ्चित गरेको छ ।  पुससम्म कम्पनीको खराब कर्जा अनुपात बढेर ३.५३ प्रतिशत पुगेको छ । यस्तै कस्ट अफ फन्ड १५.१६ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।