स्रोत नखुलेको सम्पत्तिमा कर तिरे स्वतः वैध, ट्रान्सपरेन्सी इन्टरनेशनलको फरक मत

0
Shares

सरकारले स्रोत नखुलेको सम्पत्तिमा कर तिरेर बैंध बनाउने व्यवस्था गर्न खोजेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले नेपालले ध्यानाकर्षण गराएको छ ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४’ मर्म र उद्देश्य विपरित स्रोत नखुलेको सम्पत्तिमा कर तिरे ‘स्वतः वैधता प्रदान गरिने बाटो’ खुलाउन नहुने भन्दै टीआई नेपालले ध्यानाकर्षण गाएको हो ।

सरकारले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी डेढ दर्जन ऐनलाई संशोधन गर्न विधेयक तयार गरेको छ । सरकारले उक्त विधेयक २०७९ माघ २७ गते संसदमा दर्ता गराएको छ । सरकारले दर्ता गराएको विधेयका केही व्यवस्था संशोधन गरेर मात्र स्वीकृत हुनुपर्ने टीआईले जनाएको छ ।

सरकारले संसदमा दर्ता गराएको विधेयक जस्ताको त्यस्तै स्वीकृत भएको खण्डमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४’ को मर्म तथा उद्देश्य विपरित हुने टीआई नेपालको बुझाई छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४’ को मूल उद्देश्य नै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धिकरणको निवारण हो । तसर्थ, ऐनको मूल मर्म र उद्देश्य प्रतिकूल हुने गरी ‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा सो सम्पत्तिलाई स्वतः वैधता प्रदान गरिने अर्थात् अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याइने बाटो’ प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्दै टीआई नेपालले नवनिर्वाचित सांसदहरू र समग्र संसदको ध्यानाकर्षण गरेको हो ।

नेपाल भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएको हुँदा अवैध तरिकाले आर्जित धनलाई कुनै पनि बहानामा वैध तुल्याउने बाटो खोल्नु उक्त महासन्धिको प्रतिकूल हुने समेत टीआइ नेपालको ठहर छ । साथै, अदालतले सम्पत्ति शुद्धीकरण मूल कसूरको सह उत्पादन भएको र मूल कसूर लुकाएर आर्जित सम्पत्ति वैध देखाउन गरिने कार्यलाई अपराधको कोटिमा राख्ने नजीर कायम गरिसकेकाले त्यसलाई बेवास्ता गर्नु कानूनी राज्यको अवधारणा विपरित हुने समेत टीआइ नेपालले जनाएको छ ।

अवैध तरिकाले आर्जित धनलाई कुनै पनि तरिकाले वैध तुल्याउने बाटो वा छिद्र प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्नेतर्फ सचेत रहन समेत ट्रान्सपरेन्सी इन्टरनेशनले (टीआई) नेपालले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फागुन २०७९, बुधबार  १४ : ४० बजे