लघुवित्तहरुले नियम विपरित उठाएको डेढ अर्ब फिर्ता हुने, एकभन्दा बढी लघुवित्तबाट ऋण लिन बन्देज

0
Shares

लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकहरुबाट नियम विपरित सेवा शुल्क बापत उठाएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता हुने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संघ नेपाललाई बैठकमा डाकेर अतिरिक्त रुपमा लिएको रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिन निर्दैशन दिएका हुन् ।

बैठकमा लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति भएको छ । लघुवित्तहरुले वार्षिक १.५० प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ ।

त्यसैगरी छलफलमा एउटा ग्राहकले एउटा भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने सहमति भएको छ ।  यस्तै परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ग्राहकहरुको विवरण एक महिनाभित्र तयार पार्ने र त्यस्ता ग्राहकहरुलाई ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्ने सहमति भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त संस्थाहरुले अर्थतन्त्र, रोजगारी कर, वित्तीय साक्षरता र सामाजिक क्षेत्रमा गरेको योगदान तथा यस क्षेत्रमा देखापरेका समस्या समाधान गर्न नेपाल राष्ट्र बैकले अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, अर्थमन्त्रालयका सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लघु वित्त संघ नेपालका अध्यक्ष जगत पोखरेल लगायत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।