मोलुङ्ग हाइड्रोपावरको आईपीओमा माग भन्दा तीन गुणा बढी आवेदन

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रबार दिउँसोसम्म २.९४ गुणा बढी आवेदन परेको छ ।

फागुन ४ गते बिहीबारदेखि निष्काशन भएको आईपीओमा शुक्रबार दिउँसो १ः५५ बजेसम्ममा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ बराबरको ६६ लाख ५५ हजार ४३० कित्ता सेयरको माग भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीको सेयर खरिदका लागि ५ लाख ८३ हजार ५०२ वटा आवेदन परेको छ ।

कम्पनीले कर्मचारी, म्युचुअल फन्ड, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सुरक्षित गरी २२ लाख ६४ हजार ६५५ कित्ता खरिदका लागि दरखास्त आह्वान गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख २६ हजार ४६५ जनाले मात्रै पाउनेछन् । तीमध्ये ५ जनाले थप १।१ कित्ताका दरले ११ कित्ता पाउनेछन् भने २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यद्यपी मागभन्दा बढी आवेदन परिसकेकाले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । कम्पनीको आईपीओमा फागुन १० गते बुधबार निष्कासन बन्द हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।