‘अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस’


प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन् ।

बिहिबार धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो । उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिए ।

“दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ”, मुख्यमन्त्री कार्कीले भने, “निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।”

उनले मुलुकको निर्यात घटेको र आयात झन् झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सङ्घईले बैंकको चर्कोे ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे ।

खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उनले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताएका हुन् ।

व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै संघईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।