आइतबार ६१ अंकले घटेर फर्कियो सेयर बजार

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश कडाइपछि घट्न थालेको सेयर बजार आइतबार सेयर बजार आइतबार ६१.४० बिन्दुले घटेर पुनः बाउन्स ब्याक भएको छ ।

आइतबार २०२२.६४ बिन्दुमा खुला भएको बजार परिसूचक ६१.४० अंकले घटेर न्यूनतम १९६१.२४ बिन्दुसम्म झरेको थियो । त्यसपछि बढ्न थालेको बजार सूचक नेप्से अन्तिममा ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेर बन्द भएको छ । यसअनुसार आइतबारको बजारमा ६८.४२ अंकको उतार चढाव देखिएको हो । दिउँसो २ः३२ बजे बजार सूचक सर्वाधिक २०२९.६६ बिन्दुसम्म पुगेको थियो ।

लघुवित्तका ऋणीहरु संकटमा परेर ब्याज तिर्न नसक्ने भन्दै आन्दोलित भएपछि नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशतभन्दा धेरै लाभांश बाँड्दा थप रकम जगेडा कोषमा व्यवस्था गर्नुपर्ने नियम ल्याएपछि गत बिहीबार पनि बजार सूचक ५७.७४ अंकले घटेको थियो । उक्त दिन अधिकांश लघुवित्तहरुको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

आइतबार पनि सोही रफ्तारले लघुवित्त कम्पनीहरुको सेयरमूल्य घटेपछि लघुवित्तको सेयरमा उच्च खरिद बिक्री चाप आएपछि बजार सकारात्मक बनेको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थाले लघुवित्त कम्पनीहरु थप सबल हुन नबुझेका लगानीकर्ताहरुले बिक्री गरेको सेयर यस अवधिमा बजारका अनुभवी र टाठा लगानीकर्ताहरुले भने सस्तो भाउमा पाएपछि खरिद गरेका हुन् ।

आज २६२ स्क्रिप्टका ६५ लाख १५ हजार ८५२ कित्ता सेयर ५० हजार ५३२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ पुगेको छ ।  आइतबार विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको मूल्य ८५० रुपैयाँ पुगेको छ । ग्रीन डेभलपमेन्ट बैंकको ७.६०, अभियान लघुवित्तको ७.२६, मिर्मिरे लघुवित्तको ६.९६, आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ६.९४ प्रतिशत, ग्रीन लाइफ ६.६२, मेरो माइक्रोफाइनान्स ६.०४, नेरुडे लघुवित्त ५.९५, सिभिल लघुवित्त ५.५२, सामलिङ्ग पावरको ५.४५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यसदिन सिटिजन्स म्युचुअल फन्ड–१ को इकार्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ । जनउत्थान लघुवित्तको ५.३६, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्य ३.९५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३.९४ र सानिमा लार्ज क्याप फन्ड ३.४१ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको ७ करोड ८६ लाख, छिमेक लघुवित्तको ७ करोड १६ लाख, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख, र नेष्डो समृद्धि लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारपछि २९ खर्ब २७ अर्ब ८३ करोड ७८ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।