सानिमा मिडिल तमोरले ४२ लाख ४८ हजार कित्ता आईपीओ ल्याउँदै


सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ४२ लाख ४८ हजार ९ सय ३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई सेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागेको हो ।

कम्पनीले ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको थियो ।

फागुन २६ गतेबाट बिक्री खुला गर्न लागेको आइपीओ फागुन ३० गते सम्म भर्न पाइने छ । उक्त सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्रबोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तो छ कम्पनी

कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाले कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ । कुल लागत भने ३३ अर्ब १३ करोड अनुमान गरिएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।