नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाण्डौंबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाण्डौं उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।
स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाण्डौं उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् ।
शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाण्डौं उपत्यका (तत्कालीन नेपाल खाल्डो) को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ ।
त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।
त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् ।
यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।
विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।
चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार एक सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताउँछन् ।
केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि सात सय ९९ रुपैयाँ, नेपाली विद्यार्थीका लागि छ सय रुपैयाँ र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ ।
चन्द्रागिरि डाँडामा अहिले दैनिक दुई हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन चार हजार पाँच सयदेखि पाँच हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् ।
चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८\७९ मा पाँच लाख सात हजार चार सय ११ नेपाली र ६३ हजार तीन सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताउँछन् ।
चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।
७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ एक सय मिटर छ भने अर्को दुई सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया