सेयर कारोबार एक अर्ब ३५ करोडमा झर्‍यो, नेप्से २०१९ बिन्दुमा

0
Shares

नेप्सेमा निराशा छाउँदा मंगलबार कारोबार रकम १ अर्ब ३५ करोडमा झरेको छ । सत्ता गठबन्धनमा फेरबदल आउँदा राजनैतिक वृत्त अस्थीर बन्दा त्यसको सोझो असर परेको हो ।

राजनैतिक उथलपुथलको असर देखिँदा नेप्से २०७९ पुस १३ गतेभन्दा यताकै न्यून बिन्दुमा झरेको छ । मंगलबारको बजारमा २०.४५ अंकको उतार–चढाव देखा परेको छ । अधिकतम २०३३.७० बिन्दुसम्म पुगेको बजार सूचक न्यूनतम २०१३.२५ बिन्दुसम्म झरेको थियो । २०२३.५६ बिन्दुमा खुला भई दिनभरमा १०.१४ अंकसम्म बढेको नेप्से कारोबारको अन्तिम समयमा ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा झरेर बन्द भएको छ । आइतबार सामान्य बढेको पनि बजार सूचक ऋणात्मक नै रहेको थियो ।

नेप्सेमा आज २६२ स्क्रिप्टको ३९ लाख ४६ हजार २४ कित्ता सेयर २८ हजार ६८४ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५० करोड ५८ लाख ७० हजार रुपैयाँले घटेको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । सोमबार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ माथिको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसूचकमध्ये चार वटा सामान्य बढेका छन् भने ९ वटा घटेका छन् । लगानी उपसमुहगत सूचक सर्वाधिक १ प्रतिशतले वृद्धि हुँदा ब्यापार, जलविद्युत, म्युचुअल फन्डको पनि बढेका हुन् । होटल तथा पर्यटन सर्वाधिक ०.९७ प्रतिशतले घटेको छ ।

सेयर बजार घटेसँगै सर्वाधिक कारोबार भएको युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ५० लाख ६९ हजार, सानिमा माई हाइड्रोपावर ६ करोड ४६ लाख, निफ ३ करोड ४६ लाख र पाँचौं ठूलो कारोबार भएको हिमालयन डिष्टिलरीको ३ करोड ४४ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा गरेको कडाइपछि घट्न थालेको लघुवित्तको क्षेत्रका कम्पनीहरुको सेयरमूल्य विस्तारै बढ्दो क्रममा देखिएका छन् । बजार ऋणात्मक भएपनि लघुवित्तको कम्पनीहरुको मूल्य भने केही सुधार भएका छन् ।

आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढेसँगै आँधिखोला लघुवित्तको सेयर प्रतिकित्ता १०४५ रुपैयाँ, आदर्श लघुवित्तको १५१२ रुपैयाँ ५० पैसा र खप्तड लघुवित्तको ११३१ रुपैयाँ ९० पैसा पुगेको छ । सिद्धार्थ इन्स्योरेन्सको ६.४१ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर ५.७६ प्रतिशतले बढेको छ ।

उता प्रिमियर इन्स्योरेन्सको सेयर ३.८५ प्रतिशतले घटेर ६२४ रुपैयाँमा झरेको छ । राप्ती हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सनको ३.८४, सामलिङ्ग पावर ३.७९, तारागाउँ रिजेन्सी होटल ३.७८ र स्वाभिमान लघुवित्तधे सेयरमूल्य ३.२९ प्रतिशतले घटेको छ ।

मंगलबारको बजारपछि लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति मापक कुल बजार पूँजीकरण ५ अर्ब १८ करोड ९० लाख रुपैयाँले घटेर २९ खर्ब १७ अर्ब ३८ करोड ६ लाख रुपैयाँमा समेटिएको छ । सोमबार२९ खर्ब २२ अर्ब ५६ करोड ९६ लाख रुपैयाँ कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।