त्रिशुली जलविद्युतमा १० रुपैयाँमा आईपीओ किनेकाले आजसम्म मात्रै रकम थप्नसक्ने

0
Shares

जनताको जलविद्युत कार्यक्रममा आबद्ध त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको दश रुपैयाँमा सेयर खरिद गरेका सेयरधनीहरुले आज (फागुन १७) गतेसम्म मात्रै थप रकम भुक्तानी गनर्् पाउने भएका छन् ।

यसअघि कम्पनीले २०७९ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म समय दिएर लगानी थप्न आह्वान गरेको थियो । सो समयमा चुक्ता गर्न बाँकी सेयरधनीमध्ये ४६ हजार १७९ जना सर्वसाधारणले रकम थप नगरेपछि ती सेयरधनीलाई कम्पनीले पुनः तीन महिनाको समय दिएको थियो ।
हालसम्म बाँकी ९० रुपैयाँ रकम थप नगरेका लगानीकर्ताले बुधबार कार्यालय समयभित्र ८८ रुपैयाँ ७४ पैसाका दरले आफुले खरिद गरेको सेयर संख्याको हिसाबले रकम भुक्तानी गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त रकम सेयरधनीहरुले बिक्री प्रबन्धकको कार्यालय नक्साल काठमाण्डौंका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयर र मेरो सेयरको मोबाइल एपबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्नेछन् ।

लगानी थप नगरे सेयर जफत

बिक्री प्रबन्धकका अनुसार आजसम्म सेयर खरिद बापतको रकम नबुझाउने सेयरधनीले आगामी दिनमा रकम थप्न पाउनेछैनन् । यसरी थप नभएको रकम बराबरको सेयर जफत हुनेछ ।

सेयरधनीले यसअघि दश रुपैयाँका दरले अग्रिम भुक्तानी वापत बुझाएको रकम बराबरको कित्ता मात्र सेयर पाउनेछन् भने थप्न बराबरको बाँकी रकमको सेयर पाउनेछैनन् । यसरी थप्न बाँकी रहेको सेयर जफत हुने कम्पनीले जनाएको छ ।

कम्पनीका एक अधिकारीका अनुसार थपिएको तीन महिना (२०७९ मंसिर १८ देखि फागुन १७) को अवधिमा समेत रकम थप नभए सम्बन्धीत सेयरधनीले अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर संख्या कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी सेयर भने जफत हुन्छ ।

यसरी जफत गरिएको सेयर जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधिको दफा ८ ले गरेको व्यवस्था बमोजिम संस्थापक समुहले लिनेछ । त्रिशुली जलविद्युत कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरण संस्थापक लगानीकर्ता रहेका छन् । कम्पनीमा दुबैको ३०–३० प्रतिशत लगानी रहेको छ ।

सेयरधनीलाई रकम थप गर्न कम्पनीले दुई पटक समय दिइएको छ । दश रुपैयाँमा सेयर खरिद गरेका सेयरधनीलाई पहिलो चरणमा २०७९ असोज ४ गतेदेखि कार्तिक १७ गतेसम्म ८७ रुपैयाँका दरले रकम थप्न आह्वान गरिएको थियो । सो समयमा १ लाख ८ हजार ३८० जना लगानीकर्ताले रकम थप गरेका थिए ।

त्रिशुली जलविद्युतमा कुल १ लाख ५४ हजार ५५९ जना सेयरधनी रहेका छन् । ४६ हजार १७९ जनाले रकम थप नगरेपछि कम्पनीले मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म दोस्रो पटक समय दिएको हो । यस अवधिमा रकम थप गर्नेले प्रतिसेयर ८८ रुपैयाँ ७४ पैसा भुक्तानी गर्नुपर्ने हुन्छ ।
पहिलो पटक रकम थप्दा अग्रिम भुक्तानी गरेको प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरेको रकमबाट प्राप्त हुने वार्षिक ८ प्रतिशतले हुन आउने ३ रुपैयाँ ब्याज घटाएर ८७ रुपैयाँ बुझाए हुन्थ्यो । सो समयमा नबुझाउने रकम बुझाउन दिइएको ३ महिनाको वार्षिक ८ प्रतिशतका दरले लाग्ने ब्याजदर रकम (१ रुपैयाँ ७४ पैसा) थप गरी प्रतिसेयर ८८ रुपैयाँ ७४ पैसा भुक्तानी गर्नुपर्ने भएको हो ।

२०७५ चैतमा निष्कासन भएको थियो आईपीओ

नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । सो समयमा निष्काशित सेयरको अंकित मूल्यको १० प्रतिशतका दरले सर्वसाधारणबाट प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरि उक्त सेयरको बाँडफाँड २०७५ साल चैत १४ गते गरिएको थियो ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।