पेप्सी उत्पादक बरुण बेभरेजको आम्दानीमा आकर्षक वृद्धि, रेटिङ पनि बढ्यो

0
Shares

हल्का पेयपदार्थ पेप्सीको लागि नेपालको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी आकर्षक रुपमा बढेको छ ।

इक्रा नेपालका अनुसार सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख आम्दानी गरेको बरुण बेभरेजको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेर ८ अर्ब २ करोड ४० लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको आम्दानीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफामा भने गिरावट आएको छ । सन् २०२१ मा कुल आम्दानीको २६.३० प्रतिशत रहेको यस्तो नाफा सन् २०२२ मा घटेर २१.२० प्रतिशतमा खुम्चिएको छ ।

कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण कम्पनीको उत्पादन लागत बढेको छ । सन् २०२२ अघिका वर्षहरुमा कच्चा पदार्थ खरिदका लागि कुल सञ्चालन आम्दानीको ३७–३९ प्रतिशत प्रयोग हुँदै आएको थियो भने सन् २०२२ मा कुल सञ्चालन आम्दानीको ४३ प्रतिशत कच्चा पदार्थ खरिदमा प्रयोग भएको छ । जसकारण कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचांक कमजोर देखिएका छन् ।

अन्तार्राष्ट्रिय ब्राण्ड पेप्सीको आधिकारिक बिक्रेता रहेको बरुण बेभरेजलाई पेप्सीकोले पर्याप्त मात्रामा प्राविधिक तथा वित्तीय सहयोग गरेको छ । कम्पनीको बलियो वित्तीय छवीले पनि कम्पनीलाई वित्तीय सहजता प्रदान गरेको छ । नेपाली बजारमा सफ्ट ड्रिङ्क्सको माग बढ्दै गएको छ र अधिकांश मानिसहरुको रोजाइमा कम्पनीले उत्पादन गर्ने ड्रिङ्कसहरु रहेका छन् ।

सन् १९८५ मा स्थापना भएको कम्पनीले पेप्सी, माउन्टेन डीउ, स्लाइस, मिरिन्डा, सेभन–अप, एक्वाफिना, सोडा ब्रान्डको नामबाट सफ्ट ड्रिङ्कसहरुको उत्पादन गर्दै आएको छ ।

यस अघि २ अर्ब ४८ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए–१ रेटिङ दिएको थियो । यस अघि कर्जाको जोखिम मापनका लागि आवश्यक पर्ने कम्पनीहरुको बारेमा अध्ययन गर्नका लागि कम्पनीले आवश्यक जानकारी नदिएपछि रेटिङमा घटुवा गरी ‘इस्यूअर नट को अपरेटिङ’ को सूचीमा वर्गीकरण गरेता पनि अहिले कम्पनीले आवश्यक सूचना दिएपछि इक्राले कम्पनीलाई सूचीबाट हटाएको छ ।

कम्पनीले २ अर्ब ४८ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि पुनः रेटिङ गराएको छ । इक्रा नेपालले यस अघि गरेको रेटिङमा बढुवा गरी उक्त कर्जाका लागि ए–१ प्लस रेटिङ गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।