धौलागिरि क्षेत्रका ४ जिल्लामा फोरजी


नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ ।

बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ ।

नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

“यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्”, उनले भने, “विशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।”

धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ । यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ ।

“गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो”, धवलागिरि–४ बगरका चित्र तिलिजाले भने, “अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ ।”

मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोरलगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो । टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङलगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ ।

ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौँको सङ्ख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो । बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन् ।

म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ । मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ । पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।