नेपाल रिको जीवन ब्यवसायबाट हुने नाफा घट्दो, निर्जीवन व्यवसायको भरथेग

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायबाट हुने नाफा उल्लेख्य रुपमा घटेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा जीवन बीमा व्यवसायबाट १ करोड ५ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट ७ करोड ५० लाख ८७ हजार रुपैयाँ नाफा गरेकोमा ८७ प्रतिशतले घटेको हो ।

कम्पनीको असोज मसान्तसम्मको अन्त्यको असमाप्त वापतको जोखिम व्यवस्था वापत छुट्टाउनुपर्ने रकम शतप्रतिशतभन्दा बढीले वृद्धि भई १ अर्ब २१ करोड माथि पुगेको छ भने व्यवस्थापन खर्च पनि दोब्बर भएको छ ।

समीक्षा अवधिमा कम्पनीको गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन बीमा व्यवसायबाट हुने नाफा भने बढेको छ । गत आवको पहिलो त्रैमासमा १६ करोड ४९ लाख ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ८.१८ प्रतिशत बढेर १७ करोड ८४ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा व्यवसायबाट नाफा बढेपनि जीवन बीमा व्यवसाय उल्लेख्य घट्न पुग्दा समग्रमा पुनर्बीमा कम्पनीको खुद नाफा २१.२९ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा जीवन तथा निर्जीवन व्यवसाय गरी कुल २४ करोड १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा चालु आवको सोही अवधिमा १८ करोड ८९ लाख ३० हजार रुपैयाँमा खुम्चिएको हो ।

चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी वार्षिक ६ रुपैयाँ ४८ पैसा छ । जगेडा कोषको अकार ६ अर्ब २ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुग्दा प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

यस्तै कम्पनीको बीमा कोषको आकार ३ करोड १४ लाख ४५ हजार रुपैयाँले घटेर २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँमा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ४३ करोड ५२ लाख १६ हजार रुपैयाँ (निर्जीवन व्यवसायबाट ८५ करोड ८६ लाख ९ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट ५७ करोड ६६ लाख ७ हजार रुपैयाँ) खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४२.५६ प्रतिशत कम हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख ८९ हजार रुपैयाँ (निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रुपैयाँ) खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले असोजसम्म १ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । कुल बीमा शुल्क आर्जन करिब ३७.६४ प्रतिशतले घटेको छ ।

त्यस्तै कम्पनीले १ अर्ब ३ करोड ८० लाख कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ७२ करोड १५ लाख कुल दाबी भुक्तानी गर्न बाँकी छ । गत आवको सोही अवधिमा कम्पनीले ९६ करोड ६५ लाख कुल दाबी भुक्तानी गरेको छ भने २ अर्ब ४ करोड ३७ लाख कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १४ करोड ६० लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यहि अवधिमा कम्पनीले १० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन भइसक्न लाग्दा नेपाल रिले भने आइतबार पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।