व्यवसायिक जनशक्ति विकास गर्ने उद्देश्यले सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै

0
Shares

वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्न उद्देश्यका साथ आगामी बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुने भएको छ । फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा आयोजना हुने गोष्ठी ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोच सहित आयोजना गर्न लागिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा बुधबार र बिहीबार गोष्ठी हुनेछ । ४५० जनाको सहभागीता रहने गोष्ठीमा आइतबार बेलुकासम्म ३९८ जना व्यवस्थापकहरुले रजिष्ट्रेशन भैसकेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवं आवश्यकताको आधारमा गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले बताए ।

उपलब्ध स्रोत र साधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवं विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको संयोजक पनेरुले बताए ।

विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाई थियो । यस्तै गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नुका साथै कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताए । वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने तथा वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको बताए ।

गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विद्वतहरुबाट विभिन्न सात विषयमा कार्यपत्रहरु प्रस्तुत हुने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

गोष्ठीमा सात वटा विषयका सामुहिक सत्र सञ्चालन गरिने बताइएको छ । पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी तीन विषयहरुमा प्रस्तुति रहने छन् ।

त्यस्तै दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक-समावर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी चार विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुने नेफ्स्कूनले जनाएको छ ।

विसं २०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।

विश्वव्यापी आर्थिक मन्दीको अवस्था, नेपालको समग्र वित्तीय अवस्था र विशेषतः नेपालको सहकारी अभियान तरलताको दबाबमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठी आयोजना गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको तर्फ पनि सचेत एवं सजग रहेको आयोजकले जनाएको छ । गोष्ठीको आवश्यक तयारी समेत पूरा भएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।