अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधार्न आवश्यक

0
Shares

वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्व अध्यक्ष एवं सीइओ श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

‘सहकारीमा समस्या मात्र छैनन्, सम्भावना बोकेका र आफुलाई सफल प्रमाणित गरेका सहकारीहरु पनि छन् यसको पहिचान गर्ने र भन्ने समय आईसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।’ उनले भने ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पुँजी, प्रविधि र सचेतनाले गरिब, पीछडिएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्व विकासमा ठूलो योगदान पुगेको बताए ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाए । उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दाबी गरे । अहिले १ हजार ४५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पारे ।

ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको उनले जानकारी दिए ।  किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दाबी गरे ।

कार्यक्रममा कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले नेपालको दूरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए । सीईओ गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसँग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिए ।  उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दाबी गरे । ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दूरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको उनले बताए । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गर्नुभएको जानकारी दिए ।

कार्यक्रममा देशभर रहेका १ हजार ४५९ साझेदार सहकारी संस्था मध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ । यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रुपमा हेटौँडा इलाका कार्यालाई उत्कृष्ट इलाका कार्यालयका रुपमा पुरस्कृत गरेको छ ।

कार्यक्रमका लघुवित्त वित्तीय वित्तीय संस्थाका सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।