नेप्सेको वृद्धि टिकेन, आइतबार २७ अंकले घट्यो सूचक

0
Shares

नेप्सेमा आएको वृद्धि टिकाउ देखिएको छैन । पछिल्ला दुई दिनमा नेप्सेमा ६४.४५ अंकको वृद्धि भएपनि साताको पहिलो कारोबार दिनमा नै २६.८० अंकले बजार सूचक आरालो लागेको हो । गत मंगलबार र बिहीबार नेप्सेमा बढोत्तरी देखिएको थियो । पाँच कारोबार दिनको लगातर ८८.९४ अंकको गिरावटपछि नेप्से गत मंगलबार १४.४१ र बिहीबार ५०.०४ अंकले बढेको थियो । 

आइतबार नेप्से १.३४ प्रतिशत अर्थात २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा झरेको छ । आज कुल १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर ३६ हजार २८० वटा संख्यामा खरिद बिक्री भएका छन् ।

आजको बजारबाट भर्खरै दोस्रो बजारमा कारोबारमा आएको शुभम् पावरका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत बढेर ३५२ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै नबिल डिबेञ्चर २०८५ को मूल्य ४.०४ प्रतिशत, युनिक नेपाल लघुवित्त ४.०३, नाडेप लघुवित्त ३.२६ र गरिमा डिबेञ्चर २०८५ को मूल्य २.३३ प्रतिशतले बढेको छ ।

उता गुडबिल फाइनान्स डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ६.५५ प्रतिशत घटेर १०२०.२० रुपैयाँमा झरेको छ । यस्तै हिमालयन बैंक ६.३७ प्रतिशत, नेपाल इन्स्योरेन्स ५.८७, सप्तड लघुवित्त ५.३५ र आदर्श लघुवित्तको सेयर ५.१६ प्रतिशतले घटेको छ । फागुन १२ देखि सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको हिमालयन बैंकको नाममा सबिक सिभिल तर्फको रोक्का सेयर बिहीबार सुचीकृत भई आइतबारदेखि हिमालयन बैंकको नामबाट कारोबारमा आएको हो । सोही कारण बैंकको सेयरमूल्य बजारले समायोजन गरेको हो ।

आइतबार शिवम् सिमेन्टसको सर्वाधिक ८ करोड २१ लाखको सेयर कारोबार भएको छ । यसैगरी हिमालयन डिष्टिलरी ५ करोड ७५ लाख, लुम्बिनी जनर ४ करोड ३४ लाख, निफ्रा ४ करोड ११ लाख, ङादी ग्रुप पावरको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबारमा आएको छ ।

बजार सूचक घटेसँगै आज कुल बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब ५२ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।