हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सले डाके साधारण सभा

0
Shares

हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् ।  लाभांश सहितका अन्य प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले चैत २९ गते बुधबार तथा एनएलजी इन्स्योरेन्सले चैत २० गते सोमबार सभा बोलाएका हुन् ।

हिमालयन एभरेष्टको साधारण सभा बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले साविकका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायत अनुसूचीहरु पारित गर्ने छ । दुई कम्पनीबीच गत साउन १ गते मर्जर सम्पन्न भई ‘हिमालयन एभरेष्ट इन्सुरेन्स’ को नाममा एकीकृत कारोबार सुरु भएको थियो ।

यसैगरी सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । बोनस सेयर वितरणपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ३ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार चैत २ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

उता एनएलजी इन्स्योरेन्सले चैत २० गते आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान साढे १० बजे १७ औं वार्षिक साधारण सभा डाकेको छ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी ३ अर्ब पुर्याउने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते सोमबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार चैत १२ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।