नेप्सेमा ओरालो यात्रा जारी, कारोबार एक अर्बमा खुम्चियो

0
Shares

बढेको नेप्से वृद्धि टिकाउ हुने गतिलो आधार नदेखेपछि साताको दोस्रो कारोबार दिन पनि दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताहरुमा मनोवैज्ञानिक असरका कारण लगातार दोस्रो कारोबार दिन पनि नेप्सेमा उच्च अंककाे ह्रास देखिएकाे हाे ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुले गरेको ब्याजदर विरुद्धको आन्दोलन, सरकार गठनमा फेरिएको सत्ता समीकरण र नयाँ मन्त्रिमण्डल समेत विस्तार नभएको अवस्थामा लगानीकर्तामा बजारप्रतिको मनोबल कमजोर बन्दा सेयर बजार सूचकमा आएको वृद्धि टिकाउ नदेखिएको हो ।
आइतबार २६.८० अंकले घटेको नेप्सेलाई पच्छाउँदै आज सोमबार पनि बजार सूचक २४.६८ अंकले घटेको छ । १९७५.८९ बिन्दुमा खुला भएको नेप्से कारोबारको अन्तिममा आउँदा १.२५ प्रतिशत घटेर १९५१.२१ बिन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँमा समेटिएको छ । आइतबारको तुलनामा कारोबार रकम ५० करोड ४४ लाख रुपैयाँले घटेको हो । बजार सूचक कता जान्छ भन्ने अन्यौलता कायमै रहँदा बजारमा प्रवेश गर्न चाहने लगानीकर्ता अहिले ‘पर्ख र हेर’ को रणनीतिमा रहेका छन् । सोही कारोबार कारोबार रकममा पनि सूचकसँगै गिरावट देखिँदै आएको छ । यसदिन २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० वटा संख्यामा खरिद बिक्री भएका छन् ।

आजको बजारबाट भर्खरै दोस्रो बजारमा कारोबारमा आएको शुभम् पावरका लगानीकर्ताले आज पनि सर्किल मूल्यमा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत बढेर ३८७ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै घोडीघोडा लघुवित्तसँग मर्जरपछि कारोबार खुला भएको युनिक नेपाल लघुवित्त ४.०३, ग्रीन भेञ्चर लिमिटेड ३.८६, स्वेतगंगा हाइड्रोपावर २.०४ र प्राइम डिबेञ्चर २०८८ को मूल्य २.०१ प्रतिशतले बढेको छ ।

उता खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ । लघुवित्तको सेयरमूल्य ७.६२ प्रतिशतले घटेर ९३३ रुपैयाँमा झरेको छ । यस्तै आदर्श लघुवित्तको सेयरमा लगानी गरेकाले आजको बजारबाट ५.४१ प्रतिशत, हिमालयन बैंक ५.२८, नाडेप लघुवित्तको ५.२५ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य ४.६५ प्रतिशतका दरले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ६ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टसको सर्वाधिक ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावर ५ करोड ५ लाख, हिमालयन डिष्टिलरी ४ करोड १९ लाख र नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा आएको छ ।

बजार सूचक घटेसँगै आज कुल बजार पुँजीकरण ४१ अर्ब रुपैयाँले घटेर २८ खर्ब २१ अर्ब ८९ लाख रुपैयाँमा समेटिएको छ। हिजो २८ खर्ब ६२ अर्ब रुपैयाँमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।