दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ ।
विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो ।
उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले एक लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दैआएको छ ।
तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।
उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । दुई करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो ।
एउटा पसलको भाडा पाँच हजार पाँच सय रुपैयाँ कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया