भक्तपुर नगरपालिकाद्वारा सडक पेटीमा राखिएका सामान जफत


भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।

सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो ।

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान, मोटरसाइकललगायत सामान जफत गरिएको उनले बताए ।

अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदासमेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको गोराले जानकारी दिए ।

त्यसैगरी अमरबत्ती इन्टरप्राइजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटा खाजा घर, युनिस्टल ट्रेडर्स, बागमती आर्टस्, आरबी निर्माण सप्लार्यस, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स र ह्वाक्सी फर्निचर (डेकोर) प्रालिलाई तीन दिनभित्र दर्ता नवीकरण गरी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ ।

यसैगरी कृष्ण किराना पसलबाट म्याद गुज्रेका सामान बिक्री गर्न राखिएका पेय पदार्थ एवं खाद्य पदार्थ नष्ट गरिएको र श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसललाई अनुुगमनकै क्रममा दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत २०७९, बुधबार  ०७ : ०५ बजे