नेप्से ओरालोतिरै: ३ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

0
Shares

साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा ओरालो यात्रा जारी नै रह्यो । नेप्से घटेपनि आजको बजारमा तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ दशमलव ४० को बिन्दुमा झरेको छ । ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.५२ अंकले घटेर ३६३.२६ को बिन्दुमा कायम रह्यो ।

आज २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । गत बिहीबारको तुलनामा कारोबार ९ करोड ५९ लाख रुपैयाँले घटेको हो । बिहीबार नेप्से परिसूचक ५.३२ अंकले घट्दा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १५२ कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य स्थिर छ ।  घट्दो बजारमा पनि आज तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लागेको हो । यस्तै ग्रीन भेञ्चर लिमिटेडको ७.१८ र एनआईबिएल समृद्धि फन्ड–२ को यकाईमूल्य ४.१७ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट सानिमा ग्रोथ फन्ड इकाई मूल्य सबैभन्दा बढी ८.५६ प्रतिशतले घटेको छ । श्रीजनशील लघुवित्त ७.३३, मनकामना स्मार्ट लघुवित्त ३.९५, सबैको लघुवित्त ३.९३ र मिथिला लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । डिष्टिलरीको ६ करोड १० लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । यस्तै शिवम् सिमेन्टको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९२ लाख र नबिल बैंक ३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार हुँदै शीर्ष पाँच भित्र समेटिएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहगत सूचकहरुमध्ये ५ वटा बढ्दा ७ घटेको छ । यसदिन म्युचुअल फण्डको सबैभन्दा बढी १.१७ प्रतिशतले घट्दा होटल एण्ड पर्यटनमुलक सबैभन्दा बढी ०.८७ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।