सरकारले विश्वासको मत पाउने भएपछि उकालो लाग्यो सेयर बजार

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेस सहितका अन्य दलहरुले विश्वासको मत दिने निर्णय गरेसँगै सोमबार सेयर बजार उकाला लागेको छ । सबैभन्दा ठूलो दल नेका र राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएसँगै नयाँ मन्त्रिमण्डल विस्तार भई सरकार विस्तार हुने भएकाले सेयर लगानीकर्ताको मनोबल बलियो बनेको हो ।

पछिल्लो तीन कारोबार दिन ऋणात्मक रहेको नेप्से सोमबार २२.६५ अंकले उकालो लागेर १९४९.०६ बिन्दुमा पुगेको छ । आजको बजारमा २५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता सेयर २९ हजार २८२ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम २५ करोडले बढेर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँमा समेटिएको छ ।

आजको बजारमा युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात १७६.४० ले बढेर १९४१ रुपैयाँ पुगेको छ । यस्तै न्यादी हाइड्रोपावरको ७.७३, नयाँ सारथी लघुवित्तको ६.१८, मानुषी लघुवित्तको ५.६७ र बिन्धबासिनी हाइड्रोपावरको ४.७७ प्रतिशतले बढेको छ ।

उता सोमबारको बजारबाट सपोर्ट लघुवित्तका सेयरधनीले सर्वाधिक ५.३६ प्रतिशतले गुमाएका छन् । यस्तै स्वाभिमान लघुवित्त ४.७२, सानिमा ग्रोथ फन्डकोइकाई ४.४५, वीन लघुवित्त ४.०८ र लक्ष्मी इक्वीटी फन्डको इकाईमूल्य ३.८५ प्रतिशतले घटेको छ ।

कुल १ अर्ब २९ करोडको कारोबार भएको आजको बजारमा आईएमई जनरल इन्स्याेरेन्सको सर्वाधिक ७ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंक संस्थापक ५ करोड ८५ लाख, शिवम् सिमेन्टसको ४ करोड १३ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचकहरु बढेका छन् । ब्यापार सबैभन्दा धेरै ४.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.२१, अन्य २.१३, होटल तथा पर्यटनमुलक २ प्रतिशतले बढेको छ । सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण २८ खर्ब १६ अर्ब १८ करोड ३१ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।