सिटी होटेलले सेबोनबाट पायो आईपीओ बिक्री अनुमति

0
Shares

सिटी होटेल लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटललाई चैत्र ५ गते आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । होटललाई बोर्डले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरमा १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।

होटलले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । ९० प्रतिशत बराबरले हुन आउने १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ संस्थाहरुबाट चुक्ता भैसकेको छ ।

सिटी होटलले काठमाडौं सोल्टिमोडमा २०७८ कार्तिक १५ देखि पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा एनएमबि बैंकको अध्यक्ष समेत रहेका पवल गोल्यानको गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारीहरुको लगानी रहेको छ ।

पाँच तारे होटलमा १५३ ओटा कोठा छ । यस्तै लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु छन् ।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १ हजार वटा भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भई सञ्चालन भइरहेका छन् । सोहि अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा सोल्टीमोडमा पाँच तारे होटलको रुपमा ह्यात प्यालेस सञ्चालनमा आएको हो ।

कम्पनीले सेयर निष्काशनको लागि यसअघि नै ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।